भूकम्पको प्रभाव (कथा )-भाग २

२.खै कहाँ छ नेपाल ?

भूकम्प गएको एक हप्ता नपुग्दै धेरै पुरिएका मानिसहरुको ज्यान गइसकेको थियो l मानिसका लास निकाल्न भनेर पुलिसहरु हिँडिरहेका थिए l बस्तीबाट सडेको सिनोको जस्तो गन्ध आइरहेको थियो , पक्कै मरेको मान्छेको लास गनाएको हुनुपर्छ l विदेशतिर त जति रेक्टरको भूकम्प आएपनि धेरै नोक्सान हुदैँन तर नेपालमा त सानो ठाउँमामहामारी फैलियो भने देशैभरि फैलिन्छ जसका कारण नेपाललाई अविकसित देशका रुपमा लिइएको होला l



यो वर्ष आएको भूकम्पलाई सानो भन्न त मिल्दैन l तर यो वर्षभन्दा पहिले पनि बारम्बार भूकम्प त गइरहेको थियो नि , मानौँ ठुलै भूकम्पको सङ्केत गरिरहेको थियो l  भुगर्वविदहरुले पनि १९९०को जतिकै शक्तिशाली भूकम्प जुन समयमा पनि आउन सक्छ भनेर सतर्कता फैलाइरहेका थिए l तर मानिसका अपूर्ण इच्छा र सहरी हाउभाउको अगाडि कसको के लाग्छ र ! त्यसैले छिमेकीको अगाडि सान बढाउनकै लागि भने पनि भविष्यलाई नसोचिकन कच्ची सामानको प्रयोगले घर बनाउन थालियो lत्यसैले त आज यी भेटिएका लासको समाचार  सुन्नुपरेको छ l मानिसले आफू बस्नका लागि त यस्तो घर बनाउन सक्छ भने राजनीतिमा जालझेल गरेर प्रधानमन्त्रीको कुर्ची तानातान गर्न खोज्ने नेताहरुले बनाएको सरकारले झन कसरी नेपाली सम्पदा बनाएको थियो होला ? निश्चय नै विश्वकै सम्पतिका रुपमा मानिएका नेपाली भौतिक सम्पदाको त नामोनिशान नै रहेन l 

काठमाडौँको ऐतिहासिक अग्लो धरहरालाई पनि भत्काइदिँदा मलाई लाग्यो के अब नेपाल रहला ? काठमाडौँका साना ठुला घरहरु लडेर त केही हुदैँन थियो तर पुर्खाले सम्झनाका रुपमा छोडेर गएका ती अमूल्य सम्पदालाई पनि जोगाउन नसक्दा मैले बल्ल थाहा पाएँ,“हामी नेपाली कति गैर-जिम्मेवार रहेछौँ l” 
गोर्खालाई केन्द्रबिन्दु पारेर गएको भुइँचालोले गोर्खा भूमिलाई मात्र नभएर सिङ्घो नेपाललाई तहस-नहस पार्यो l नेपालको इतिहासमा त्यही गोर्खा दरबारमा हुर्किएका पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका थिए र मनकामनाको आशिर्वादले सफलता पनि पाएका थिए l तर जब त्यही दरबार टुक्रिए र मन्दिर ढल्कियो , तब मेरा आँखामा भविष्यको नेपालमा आउने कालो बादल मडारिन थाले l 



नेपालको मल्ल सीपकलामा निपुण भक्तपुर दरबार , हनुमानढोका, बसन्तपुर दरबार र पाटन दरबार छेत्रका भत्किएका तस्बिर र बौद्धनाथ र चाँगुनारायणको ढलेको गजुरले घाइते नेपालको अवस्था देखायो l नेपालका महत्वपूर्ण सम्पदा नै नरहे पछि अब नेपाल पानीबिनाको खोली बगर भएको थियो l नेपालकै यी भौतिक कलाबाट आकर्षण भएर आएका पर्यटकहरू घुम्दाघुम्दै घर ढलेर मरेको सुन्दा मैले सोचेँ“अब भत्केको नेपाल हेर्न किन काल खोज्दै  फेरि आउँथे र?” अब त अलिअलि भएको आर्थिक आम्दानी पनि घट्ने भयो l यही सन्दर्वमा मेरो मनमा प्रश्न उब्जियो “अब नेपाल रहला त ?” अब यो खाली मुलुकका जनता नेपाल फर्किदा शून्य देखेर “खै मेरो नेपाल” भन्न पनि बेर लाउँदैन्न् lनेपाललाई चिनाउने यी ऐतिहासिक धरोहरको पुननिर्माण हुनु त रात भरि करायो दक्षिणा हरायो भन्ने उखान हाल्नु जस्तै हो l

                                                 …









Post a Comment

0 Comments